आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

भ्रमण बर्षमा जुट्दै उदयपुरका स्थानिय तह, जनवरी १ मा राइड टु चौदण्डिगढि हुने

४२७ पटक हेरिएको

विश्वराज तामाङ
उदयपुर पौष ४
सरकारले आफ्नो कार्य योजना नै बनाएर नेपालमा पर्यटक भित्रयाउने रणनितिका साथ सुरु गर्न लागेको अभियान भिजिट २०२० लाई सफल पार्न उदयपुरमा पनि स्थानिय तहहरु जुटेको छ । उदयपुरमा पर्यटकीय संभावना बोकेका थुप्रै क्षेत्रहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्ने उद्देश्यका साथ स्थानिय तहहरुले पनि भ्रमण बर्ष सफल पार्न आफ्नो आफ्नो क्षेत्रमा योजना निर्माण गर्न सुरु गरेको छ ।
भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि उदयपुरको चौदण्डिगढि नगरपालिकाले अंग्रेजी नयाँ बर्ष जनवरी १ र २ को दिन विशेष कार्यक्रमका साथ मनाउने तयारी गरेको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनु भयो । भ्रमण बर्षको अबसरमा चौदण्डिगढि नगरपालिकाले राइड टु चौदण्डिगढि मार्फत भ्रमण बर्षको सुरुवात गर्न लागेको हो ।

भ्रमण बर्षको कार्यक्रम अनुरुप नगरपालिकाले अंग्रेजी बर्षको पहिलो दिन पौष १६ गते चौदण्डिगढि नगरपालिकाको बेल्टारबाट साईकल यात्रा सुरु गर्ने छ ६५ किलोमिटर लामो साईकल यात्रा बेल्टार हुदै बीरेन्द्रबजार, चौदण्डिगढि, चारघरे, शनिवारे, कौवाखानी, शिवाई, हडिया हुदै पुन बेल्टार सम्मको यात्रा तय गरिएको प्रमुख राईले बताउनु भयो ।

चौदण्डिगढि नगरपालिका क्षेत्रको प्रमुख पर्यटकीय स्थल गढि क्षेत्रमा पौषको १६ र १७ गते दुई दिन सम्म महोत्सव पनि संचालन हुने छ । महोत्सवमा स्थानिय विभिन्न झाकी प्रस्तुती, विभिन्न परिकारहरुको विक्रि तथा प्रदर्शनी गरी आन्तरिक पर्यटन प्रबद्र्धनको काम गर्न लागिएको नगर प्रमुख राईले बताउनु भयो । नयाँ बर्षको दिन संभव भए सम्म चौदण्डिगढिमा निर्माण भएको भ्यू टावर समेत उद्घाटन गर्ने तयारी रहेको उहाँले बताउनु भयो ।
चौदण्डिगढि नगरपालिकामा आयोजना हुन लागेको राइड टु चौदण्डिगढि मार्फत चौदण्डिगढि नगरपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुको प्रचार र प्रबद्र्धन गर्ने योजना रहेका नगरपालिकाले जनाएको छ । चौदण्डिगढि नगरपालिकामा प्रमुख पर्यटकीय क्षेत्रहरुमा वडा नम्बर १ अवस्थित चौदण्डिगढि दरबार, भ्यू टावर, रानीटार क्षेत्र मुख्य गनतव्य हुन् । त्यसैगरी वडा नम्बर २ र ६ को कौवाखानी, वडा नम्बर ४ को तीन दोभाने, बसाह थान, वडा नम्बर ३ को वेलका मन्दिर, वडा नम्बर ७ को हात्तीखौडे, वडा नम्बर ९ को धार्मीक पर्यटकीय स्थल थान पोखरी (जहाँ बैशाख १ गते नेपाली नयाँ बर्षको दिन मेला लाग्ने गर्छ) वडा नम्बर १० भिमसेनथान मन्दिर पर्यटकको लागि गनतव्य बन्न सक्ने नगर प्रमुख राईले जानकारी दिनु भयो ।

यता जिल्लाकै विकट तर पर्यटकीय दृष्टिकोणले प्रचुर संभावना बोेकेको क्षेत्रको रुपमा रहेको लिम्चुङबुङ गाउँपालिकाले पर्यटन बर्षको लागि आन्तरिक योजना बनाई रहेको गाउँपालिका प्रमुख मेजरकुमार राईले बताउनु भयो । उहाँले लिम्चुङबुङ गाउँपालिकालाई पर्यटकले खुल्ला प्राकृतिक संग्राहलयको रुपमा लिन सक्ने बताउने भयो, लिम्चुङबुङमा पर्यटकका लागि एभरेष्ट भ्यू टप मुख्य गनतव्य बन्न सक्ने छ । एभरेष्ट भ्यू टपबाट हिमालीश्रृखलाहरु देख्न सकिने भएकाले पर्यटकको पहिलो रोजाई एभरेष्ट भ्यू टप बन्न सक्ने प्रमुख राईले बताउनु भयो । लिम्चुङबुङ गाउँपालिकामा वडा नम्बर ४ मा अवस्थित एलम्बर पार्क, माझखर्क, नागी, यारी खोला, वतासे झरना, वाराह, सुनकोसी किनार लगायतका स्थलहरु पर्यटकलाई लोभ्याउन सक्ने संभावित क्षेत्र रहेको प्रमुख राईले बताउनु भयो । यता जिल्लाको चार गाउँपालिका र चार नगरपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुकै एक साता लामो प्याकेज बनाएर पर्यटन प्रबद्र्धन गर्ने योजना बनाउन लागिएको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बताउनु भयो । उहाँले जिल्लाको मुख्य गनतव्यहरुको सूची तयार पारेर एक साताको भ्रमण प्याकेज तयारी गर्ने योजना रहेको बताउनु भयो । यता त्रियुगा नगरपािलका क्षेत्रमा भने त्रियुगा नगरपालिका १ स्थित सितलपाटी, गिद्ध गया, खाटमन्दिर, साहि महल, पंचदेवी मन्दिर, वडा नम्बर १४ को धाप्लाङ लगायतका क्षेत्रमा पर्यटकको गनतव्य बनाउन सकिने प्रमुख चौधरीले बताउनु भयो ।
उदयपुरमा भ्रमण बर्ष सफल पार्नका लागि रौतामाई गाउँपालिकाले पनि विशेष योजनाहरु तयार गर्ने क्रममा रहेको रौतामाई गाउँपाििलकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले जानकारी दिनु भयो । जिल्लाकै प्रमुख पर्यटकीय गनतव्यको रुपमा रहेको रौतापोखरी, गाउँपालिकाको वडा नम्बर १ स्थित नेपालकै छैटौ लामो ओडारे झरना, चित्रेथाम, माझखर्क लगयातका स्थान रौतामाई गाउँपालिकाको पर्यटकीय गनतव्य हुन् । रौतामाई गाउँपालिकामा पर्यटन प्रबद्र्धनको लागि प्याराग्लाईडिङ, ¥याफटिङ लगायतको परिक्षण समेत गरि सकिएको छ, रौतामाई गाँउपालिकामा रहेका पर्यटकीय गनतव्यमा पर्यटकको सहजताको लागि पूर्वाधार विकासका कामहरु समेत भैरहेको अधिकृत राईले बताउनु भयो ।

यता उदयपुरको वेलका नगरपालिका क्षेत्रमा मैनामैनी, उदयपुरगढि गाँउपालिकाको ऐतिहासिक उदयपुरगढि, पंचावती मन्दिर कटारी नगरपालिकाको वेतेनी भन्ज्याङ, ताप्ली गाउँपालिकाको ताप्ली पोखरी लगायतका स्थान सन् २०२० का लागि भ्रमण योग्य स्थानको रुपमा लिन सकिन्छ । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology