आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

अस्पताल सुधार गर्न नागरिक अभियान सुरु

१८४ पटक हेरिएको

उपहार न्यूज
उदयपुर मंसीर २३
जिल्ला अस्पतालको बिग्रदो अबस्थलाई सुधार गर्नका लागि उदयपुरमा नागरिक अभियानको सुरुवात भएको छ ।
नागरिकको तर्फबाट अस्पतालको सुधारका लागि ठोस कदम चाल्ने भन्दै आईतबार सर्वपक्षिय छलफल गरी समिति गठन भएको हो ।
सरकारी अस्पताल भएर पनि सामान्य उपचार र औषधिसमेत नागरिकले पाउन नसकेको भन्दै आइतबार गाईघाटको थारुहट रंगशालामा भएको नागरिक भेलाले किरण राईको संयोजकत्वमा समिति गठन गरेको हो । सुमन्त कोइराला उपसंयोजक र सिर्जना दनुवार सचिव रहेको समितिले नागरिकहरुलाई स्वस्थ्य चेतना जगाई सरकारी हस्पिटलबाट नागरिकले पाउनु पर्ने सेवा र सुविधाहरु प्रभावकारी ढंगले दिन दवाव सिर्जना गर्ने जिम्मेवारी पाएको छ ।
लामो समयदेखि दरबन्दी अनुसारको डाक्टर नहुने, पर्याप्त कर्मचारी, उपकरण नहुने र भएकाहरुबाट पनि प्रभावकारी सेवा, सुविधा प्रवाह नहुने भएपछि नगारिकहरु अभियानमै उत्रनु परेको समितिका अध्यक्ष किरण राईले बताउनुभयो ।
उपचार सेवा राम्रो नहुनुका साथै अस्पताल भित्र र बाहिर फोहोर व्यवस्थापन नहुनु, खानेपानी र चर्पीको उचित ब्यवस्था नहुँदा अस्पतालप्रति नागरिकहरुमा वितृष्णा जागेको छ । आप्mनो ठाउँका अस्पताल विग्रदै जाँदा वितृष्णा पैदा हुनु भन्दा पनि सुधारका लागि पहल गर्न सचेत नागरिकको कर्तब्य ठान्दै नागरिकहरु एकजुट देएिका छन् । सोही अनुरुप उनीहरुले समिति गठन गरेको समितिकी सचिव सिर्जना दनुवारले बताउनुभयो ।
बर्षौंयता विभिन्न डाक्टर र अस्पताल ब्यवस्थापन समिति परिवर्तन भएपनि समस्या भने ज्यूका त्यू रहनुले नागरिकहरुले सशक्त ढंगले लाग्नु जरुरी देखेको भन्दै स्थानीय, प्रदेश र केन्द्र तीन वटै तहका सरकारलाई दबाव सिर्जना गर्ने योजना समितिको छ ।
निःशुल्क औषधिको पूर्ण व्यवस्था, दरबन्दी अनुसारको डाक्टर, चिकित्सक र कर्मचारी, पारदर्शी प्रशासन, दिगो र भरसिलो व्यवस्थापन समिति नभएसम्म अभियानलाई आन्दोलनकै रुपमा अगाडी बढाउने प्रण गरिएको समितिका उपाध्यक्ष सुमन्त कोइरालाले बताउनुभयो ।
नागरिकको स्वस्थ्य जस्तो गम्भिर विषयमा थालिएको अभियानलाई गलत मनोसायले राजनीतिकरण वा व्यक्तिवादी सोच हावी हुन नदिन सचेत गराईएको छ । नागरिकहरुले अभियानमा सबै किसिमको साथ र सहयोग दिने प्रतिबद्धता जनाएका छन् ।
अस्पतालमा नागरिकहरु जम्मा भई सरसफाईको कार्यदेखि अभियानको थालनी गरिने भएको छ । अभियानको क्रममा व्यवस्थापीय हिसावले जिल्ला समन्वय समिति र सहयोगीको रुपमा त्रियुगा नगरपालिकालाई जिम्मेवारी र जवाफदेखि बनाउदै लगिने अध्यक्ष राईले बताउनुभयो ।
विशेष गरी त्रियुगा नगरबासी, जिल्लाबासी र छिमेकी जिल्ला खोटाङसम्मका विरामीले उपचार सेवा पाउने हस्पिटललाई राम्रो हस्पिटलको रुपमा स्थापित गराउने भूमिकाका लागि राजनीतिक दल, संघीय तथा प्रदेश सांसद र सरोकारवाला निकायलाई आव्हान गरिएको छ ।
अस्पतालमा सबैभन्दा डाक्टर ल्याउने विषय जटिल रहेको भन्दै सबै राजनीतिक दल र सांसदहरुको पहल आवश्यक रहेको पूर्व अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राकेश खत्रीले बताउनुभयो ।
चानचुने हिसावले समिति गठन नभएको भन्दै प्रभावकारी अभियानसहित ठोस काम गर्ने गरी लागी पर्ने समितिले प्रतिबद्धता जनाएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका युवा नेताहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology