बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

उदयपुरको पूर्ण सरसफाईमा स्थानियतहहरु उदासिन

४५ पटक हेरिएको

विश्वराज तामाङ
उदयपुर असार १३
खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको उदयपुरमा पछिल्लो समय पूर्ण सरसफाई अभियान संचालन प्रति स्थानिय तहहरुको उदासिन्ता देखिएको छ । पूर्ण सरसफाई अभियानलाई निरन्तरता दिईनु पर्नेमा स्थानिय तहहरुको प्राथमिक्तामा सरसफाई संबन्धि कार्यक्रम नपर्दा उदयपुरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिए पनि त्यसको कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।
स्थानिय तह संचालन आए संगै सरसफाईको अभियानलाई निरन्तरता नदिईदा सरसफाई अभियान घोषणामा मात्रै सिमित हुन पुगेको हो ।
शान्ति समाज केन्द्र (पेसोक) ले शुक्रबार पूर्ण सरसफाई उन्मुख अवस्थाको बिषयमा सरोकारवालहरु संगको अन्तरक्रियाको क्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाका १६९३ घरधुरीमा अझै पनि शौचलय नभएको तथ्यांक सार्वजनिक भएको छ । जिल्लाको ताप्ली गाउँपालिका बाहेक का स्थानिय तहहरुमा अझै पनि स्थानियहरुले खुल्ला दिशा गर्ने गरेको तथ्य सार्वजनिक भएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन ३ फिल्ड कार्यालय उदयपुरको सहयोगमा पेसोकले चार महिना लगाएर जिल्लाकोे ७५ वटा वडामा गरेको सर्वेक्षण अनुसार सो तथ्यांक सार्वजनिक भएको हो । सबै भन्दा बढि कटारी नगरपालिकामा अझै पनि १००५ घरमा शौचालय छैन, वेलका नगरपालिकाको २३५, चौदण्डिगढि नगरपालिकामा ४६५, त्रियुगा नगरपालिकामा ३८७, उदयपुरगढि गाउँपालिकामा २९८, रौतामाई गाउँपालिकामा १५ र लिम्चुङुङ गाउँपालिकामा ६२ घरमा अझै पनि शौचालय नरहेको तथ्यांक प्रस्तुत भएको छ ।
उदयपुरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे संगै पूर्ण सरसफाई अभियान संचालन गर्ने योजना रहे पनि पछिल्लो पटक राज्य पुनसंरचना अनुसार स्थानिय तहहको संरचना परिवर्तन भए संगै सरसफाईको अभियान छायामा परेको पेसोक उदयपुरका अध्यक्ष सृजना दनुवारले वताउनु भयो ।
जिल्लामा हाल सम्म चार वडाहरुमा मात्रै पूर्ण सरसफाई वडा घोषणा गरिएको छ रौतामाई गाउँपालिकाको भुट्टार, वेलका नगरपालिकाको वडा नम्बर ५ र ६ र ताप्ली गाउँपालिकाको ३ नम्बर वडालाई पूर्ण सरसफाई वडा घोषणा गरिएको छ । ७५ वडा मध्ये अझै पनि ७१ वडा पूर्ण सरसफाई युक्त वडा घोषणा हुन बाकी रहेको छ, यता जिल्लाको लिम्चुङबुुङ गाउँपालिकाले वडा र पालिका स्तरीय पूर्ण सरसफाई रणनितिक योजना (वास प्लान) निर्माण गरेको छ ।
जिल्लामा सरसफाईको अबस्थालाई सुधार गर्नका लागि स्थानिय तहहरुले चासो राख्नु पर्ने सरोकारवालाहरुको जोड छ उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबराज खड्काले गाउँमा भन्दा शहरी क्षेत्रका सरसफाई अभियान चुनौतीपूर्ण भएको बताउनु भयो । उहाँले दुरदराजको गाउँमा सरसफाई संबनिध चेतनास्तर बृद्धि भए पनि शहरी क्षेत्रमा पूर्ण सरसफाई अभियानको कार्यान्वन गर्न चुनौतीपूर्ण रहेको औल्याउनु भयो, उहाँले सरसफाई अभियानलाई सार्थक बनाउनका लागि स्थानियतहहरुले प्राथमिक्तामा राख्दै स्थानिय संचारमाध्यमले समेत सघाउ पु¥याउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सहभागी स्थानिय तहका प्रमुखहरुले आगामी बजेट तथा कार्यक्रममा सरसफाईलाई प्राथमिक्तामा राखिने बताए कार्यक्रममा ताप्ली गाउँपालिका प्रमुख उद्धबसिंह थापा र रौतामाई गाउँपालिका प्रमुख गजेन्द्र खड्का सहभागी रहेका थिए । जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिलाई सक्रिय बनाएर स्थानिय तहहरु संगको समन्वय र सहकार्य बढाउदै पूर्ण सरसफाई अभियानमा जोड दिने बताउनु भयो । पेसोक उदयपुरका अध्यक्ष सृजना दनुवारले स्थानिय तहहरुले आफ्नो निति र बजेटमा सरसफाईका लागि पर्याप्त बजेट तथा कार्यक्रम विनियोजन गर्दै सरसफाई प्रति चासो र चिन्ता व्यक्त गर्नु पर्ने समय आएको बताउनु भयो । उहाँले प्रस्तुत तथ्यांक स्थानिय तहका वडास्तरमा पुगेर लिईए पनि प्रत्येक घरघरमा पुगेर तथ्यांक सार्वजनिक गर्नका लागि आवश्यक स्रोत र साधन अभाव भएकोले स्थानिय सरकारले त्यस तर्फ कार्यक्रम निर्माण गर्नु पर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology