शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

त्रिवेणी धाममा अवैध गिट्टी बालुवा उत्खनन् रोक्न स्थानीयको माग

३५ पटक हेरिएको

सुरज श्रेष्ठ- कटारी, वैशाख ३१ । कमला र तावा खोलाको संगम स्थल त्रिवेणी धाममा अवैध गिट्टी बालुवा उत्खनन् रोक्न कटारी र दुधौलीका स्थानीयले माग गरेका छन् । प्रदेश नम्बर १ र ३ को सिमाना समेत पर्ने कटारी नगरपालिकाको वडा नम्बर २ र दुधौली नगरपालिकाको वडा नम्बर ११ को विच स्थित त्रिवेणी धाममा केही दिन यता नियम विपरित यहाँका क्रसर उद्योगले खोलाको दोहन गर्न थाले पछि स्थानीयले अवैध उत्खनन् रोक्न माग गरेका हुन् ।

स्थानीयले बुधवार कटारी र दुधौली दुवै नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षलाई त्रिवेणी धाम स्थित अवैध उत्खनन् भएको क्षेत्रको स्थलगत अवलोकन गराउँदै अवैध नदी दोहन रोक्न माग गरेका हुन् । वस्ती नजिकै नदीको दोहन हुँदा नदीले खेती योग्य जमिनमा क्षति गर्नुका साथै नजिकैका वस्ती समेत जोखिममा परेकोले खोलाबाट ढुंगा, गिट्टी बालुवा निकाल्न र क्रसर उद्योग समेत बन्द गर्न माग गरेको कटारी २ का स्थानीय नातीवावु भट्टराईले बताउनु भयो ।

लक डाउनका समयमा समेत क्रसर उद्योगले स्काभेटर प्रयोग गरी अवैध तरीकाले गिट्टी बालुवा निकालेको देखे पछि स्थानीयले आफुलाई खबर गरेको कटारी २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताउनु भयो । उहाँले स्थानीयको माग जायज भएकोले आफुले छलफलका लागि क्रसर उद्योगीलाई वोलाउँदा सम्म नआएको र उल्टै स्थानीयलाई धम्क्याउने गरेको बताउनु भयो ।

अवैध तरीकाले राष्ट्रिय सम्पतिको दोहन गर्नु अपराध हो । त्यहाँ नदी दोहन भई रहेको खवर पाए पछि आफु पनि स्थानीय सँगै सो क्षेत्रमा गएर स्थलगत अवलोकन गर्दा ३ किलोमिटर भन्दा बढी एरियामा ठाउँठाउँमा पोखरी जस्तो ठुलो ठुलो खाल्डो देखेको कटारी नगरपालिकाकी उपमेयर भीम कुमारी राउतले बताउनु भयो । त्यहाँ नदिको अवैध दोहन भएकोबारे आफुलाई वडा अध्यक्षले पटक पटक जानकारी गराए पछि आफुले दुधौली नगरपालिकाका मेयर घनश्याम राउतलाई यसवारेमा कुरा गरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो ।

नदी दोहनका विषयमा भएको छलफल र स्थलगत अवलोकन गर्न दुधौली नगरपालिकाका मेयर राउत समेत पुग्नु भएको थियो तर उहाँले नदी दोहनका विषयमा प्रतिक्रिया दिन मान्नु भएन । अवैध उत्खनन् पछि बनेका खाल्डाहरु पुर्ने, अवैध उत्खनन् गर्ने क्रसरलाई कार्वाही गने लगायतका विषयमा दुवै नगरपालिकाका जनप्रतिनिधीहरु बसेर निर्णय गरिने कटारीका मेयर श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology