शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटासंग भलाकुसारी।

८८ पटक हेरिएको

नेपाल भन्दा पर मेरो सपना अर्को छैन
क्षितिज पारि स्वर्ग जाने चाहना पनि छैन
(एल्बम:धर्ती र धुन,संगीत:शक्ति वल्लभ,स्वर:योगेश वैद्य)

वि.सं. २०११ सालमा बुवा लिलाधर देवकोटा र आमा देवीमाया देवकोटाको कोखमा गोरखाको फुजेलमा जन्मिनुभएका कवि तथा गीतकार चुडामणि देवकोटा सानै देखि अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो।८ वर्षको उमेर छॅदै काठमान्डौं आउनु भएपछि उहाॅले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमए र बेलायतको लिभरपुल विश्वविद्यालयबाट जनप्रशासन विषयमा एमपीए गर्नु भएको हो।२०२७ सालबाट औपचारिक लेखन शुरु गर्नु भएको उहाॅले शुरुमा कविता लेखनबाट अगाडि बढ्नु भएको हो।२०२८ सालमा कलेज स्तरीय कविता प्रतियोगितामा उहाॅले “दियो” शिर्षकको कविता लेखेर द्वितीय भए पछि लेखनको प्रारम्भ भएको स्मरण गर्नुहुन्छ।गीत क्षेत्रमा भने २०५४,२०५५ सालमा मात्र प्रवेश गर्नु भएको हो।उहाॅको पहिलो गीत २०५६ सालमा गायक रामकृष्ण ढकालको आवाजमा रेकर्ड भएको थियो।कवि तथा गीतकार चुडामणि देवकोटाका गीतहरुमा प्राय देशप्रेम र राष्ट्रियता झल्किने गर्दछ। स्रष्टाहरुसंगको संगतले गीतकार बनाएको बताउनु हुने उहाॅ लामो समय सरकारी जीवन व्यतित गरेर हाल गीतकार संघ नेपालको अध्यक्षको रुपमा कार्यभार सम्हाली राख्नु भएको छ।

आकास रोए पानी झर्छ मन रोए आँसु
मुटु भरि पिर बोकी म कसरी हाँसु
(एल्बम:स्पन्दन,संगीत:शक्ति वल्लभ,स्वर:रामकृष्ण ढकाल)

●गीत लेखनका शुरुवाती दिनहरुलाई कसरी स्मरण गर्नुहुन्छ?

□२०२७ तिर म आई. ए. पढ्ने समयमा कविता लेख्ने गर्दथे अर्थात मेरो लेखन यात्राको सुरुवात कविता लेखनबाट भयो । कविता लेखन निरन्तर थियो । पछि संगीतकार शक्ति वल्लभज्यूसँग मित्र सुरेन्द्र खड्काज्यू मार्फत चिनजान भयो । कविता लेख्नेलाई गीत लेख्न पनि मज्जाले आउँछ भन्दै वरिष्ठ गायक आदरणीय रुबी जोशी दाइले पनि मलाई गीत लेख्न घचघच्याउनु हुन्थ्यो । सुरेन्द्र खड्का , एसपी कोइराला , विमल कोइराला जस्ता गीतकारहरुसँग बाक्लै जमघट पनि हुन लाग्यो । यस्तै बसाइँमा आफुले लेखेका सिर्जना सुनाउने पनि गर्न थालेका थियौँ । यही सुन्ने क्रममा संगीतकार शक्ति वल्लभजीले मेरो कवितालाई गीत बनाउन मिल्छ भन्ने कुरा गर्नुभयो र गीत लेखनको तरिका गाएर नै बताइदिनु भयो । त्यसपछि नै मैले गीत लेख्न सुरु गरेको हुँ भन्नु पर्छ । यसरी विगततिर फर्केर हेर्दा मलाई गीतकार बनाउनमा सुरेन्द्र खड्का र शक्ति वल्लभको ठूलो हात रहेकोछ । त्यो वेलादेखि अहिलेसम्म शक्तिजी सँग निरन्तर सहकार्यमा छु ।
●तपाईको लेखन यात्रामा कसले सबैभन्दा धेरै प्रभावित ग-यो र कसरी?

□मेरो बुवा र ठूलो दाजुले संस्कृत पढ्नुभएको र वहाँहरू साँझ बिहान श्लोकहरु गुन्गुनाई रहनु हुन्थ्यो। छन्दोबद्ध ती श्लोकको अर्थ नबुझे पनि स्मृती मधुर हुन्थे , मलाई मनपर्थ्यो । म सानै थिएँ , तर यसैगरी कण्ठस्थ श्लोक भन्ने अभिलाषा हुन्थ्यो । कविता प्रतिको आकर्षण यसैगरी चुलिंदै गयो । आइए र बीए मा नेपाली अनिवार्य हुन्थ्यो त्यसको अलावा मैले प्रिन्सिपल नेपाली समेत लिएर पढें । कविता , खण्ड काब्य तथा महाकाब्य समेत पढाइन्थ्यो ,तसर्थ पढेको विषय ज्ञानका कारण समेत लेख्नमा चाख बस्यो जस्तो लाग्छ ।

●तपाईको गीतहरुमा प्रायजसो माटो,देश र राष्ट्र भावनाले ओतप्रोत भेटिन्छ।तपाई आफू चाहि कस्ता गीत लेख्न र सुन्न रुचाउनुहुन्छ?

□संसारभर गीत लेखनको परम्परा र प्रवृत्तिलाई हेर्ने हो भने गीत मूलतः दुईओटा विषयमा केन्द्रीकृत भएर लेखेको पाइन्छ । एउटा आन्तरिक प्रेम अर्को राष्ट्र प्रेम । म पनि यो परम्पराबाट पृथक छुइन । मैले सुरुवाती दिनमा प्रेम केन्द्रित गीत नै लेखेको हुँ। अहिलेपनि लेख्छु , तर जब देशमा सशस्त्र द्वन्द चलिरहेको थियो त्यो बेला मेरा आँखाले नेपाली जनताले भोगेको दु:ख र हृदयले देशको पीडा महसुस गर्न लाग्यो ।त्यसवेलादेखि देशको माया र देशको चिन्तामा चिन्तन गरी गीत लेख्ने बानी लाग्यो । रेकर्ड पनि त्यही धारका गीत बढी भयो त्यसैले माटोका गीत बाहिर आए ।म आफू श्रोता भएर गीत सुन्दा सबै प्रकारका गीत सुन्छु । मानवीय समवेदनाका गम्भीर भाव भएका ,विशेषगरी बच्चुकैलाश र नारायण गोपालले गाएका गीत सुन्दा निकै आनन्द लाग्छ ।

●आजभोलि गीतिलेखनमा लेखनशैली र विषयवस्तुमा नविनतम प्रयोग गर्नुलाई तपाईले कसरी हेर्नुभएको छ?

□समय परिवर्तनशील छ । विकास र प्रविधिले मानिसको जीवनशैलीलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । गीति क्षेत्र पनि यसबाट अछुतो छैन । आजभोलि बजारमा आएका गीतमा एकातिर परम्परागत धार पनि विद्यमान छ भने अर्कोतर्फ नयाँ नयाँ प्रयोगवादी धारहरु पनि देखा परेका छन् । गीतमा भाषिक मिश्रणको परिपाटी पनि देखिएको छ । विशेषगरी नेपाली गीतमा हिन्दी र अङ्ग्रेजी शब्द मिसाइएको पाइन्छ । त्यसै गरी संगीतलाई रिमेक र रिमिक्स गर्ने चलन बढ्दो छ । गायनमा पनि शास्त्रीय परम्परादेखि र्याप गायन सम्म चलेको छ । श्रोताले आ-आफ्नो रुचि अनुसारका गीत सुनेर मनोरञ्जन लिइरहेका छन् ।


●तपाई गीतकार संघ नेपालको अध्यक्ष भईरहदा गीतकार संघ नेपालले गीतकारहरुको हक र अधिकारको लागि के कस्ता कार्यहरु गर्दै हुनुहुन्छ र भावी योजनाहरु के कस्ता छन्?

□गीतकार संघ नेपाल २ ०६७ सालमा स्थापना भएको हो ।यो एक दशकको यात्रा हेर्ने हो भने यस संघले गीतकारका हक हित , संरक्षण , सम्वर्द्धन तथा आर्थिक र नैतिक हकको बारेमा सम्वेदनशील भइ काम गरिरहेको छ । नेपालको संविधानमा बौद्धिक सम्पत्तिको हकलाई मौलीक हकको रुपमा समावेश गराउने देखि गीतकारको रोयल्टी व्यवस्थापनमा पनि आवाज उठाइरहेको छ । त्यसका साथै गीतकार संघ नेपालले वार्षिक रुपमा गीतकारलाई ४ प्रकारका सम्मान तथा पुरस्कारको व्यवस्था गरेको छ । गीत लेखनमा नै आफ्नो जीवन समर्पण गर्ने एक अग्रज गीतकारलाई रु १ लाख सहित राष्ट्रिय स्रष्टा सम्मान, नयाँ पुस्ता र नयाँ गीत र गीतकारलाई प्रोत्साहन गर्न वर्ष भरि रेकर्ड भएका गीत मध्ये उत्कृष्ट एक गीतलाई रु ५१ हजारको वर्ष गीत पुरस्कार , प्रकाशित भएका गीति पुस्तक मध्ये एउटा पुस्तकलाई रु ५१ हजारकै वर्ष पुस्तक पुरस्कार तथा नेपाली भूमिभन्दा टाढा भएर पनि नेपाली गीत लेखनमा क्रियाशील एक स्रष्टालाई रु ११ हजार सहित डायस्पोरा सम्मान प्रदान गर्दै आएको छ । त्यति मात्रै नभएर यस संघले आफ्नो भविष्य सुनिश्चित गर्नका लागि अक्षयकोषको स्थापना पनि गरेको छ । यो कोषमा एक करोड राशि पुर्याउने लक्ष्य राखेको छ ।
अहिले संघमा करिब छ सयको हाराहारीमा गीतकारहरु सदस्य हुनु भएको छ । तर यो पूर्ण रुपमा गीतकारहरु समेटिएको अवस्था भने होइन । त्यसैले घरदेश तथा परदेशमा रहनु भएका सबै गीतकारहरुलाई एउटा छातामा समेटेर गीतकारका आर्थिक तथा नैतिक हकको सुरक्षा गर्नु नै गीतकार संघ नेपालको मुख्य योजना रहेको छ । त्यसका लागि देशभित्र रहेका गीतकार र नयाँ प्रतिभाहरुलाई समेटने उद्देश्य राखेर प्रदेश स्तरीय कार्यक्रम गर्दै आएको छ । कलमको साथ र शब्दको शक्तिमा विश्वास गर्ने गीतकारहरुलाई गीतिकारिताको बारेमा थप जानकारी गराउने उद्देश्यले विभिन्न प्राज्ञिक कार्यपत्रहरु तयार पारी प्रस्तुत गर्न लगाउँदै आएको छ ।२०७५ असोज ११ र १२ गते प्रदेश नम्बर एक स्तरीय कार्यक्रम गरी ‘ समकालीन नेपाली गीत :प्रवृत्ति र बजारीकरण ‘ शीर्षकको कार्यक्रम प्रस्तुत गरि छलफल भएको थियो । त्यसकै निरन्तरतालाई अघि सार्दै २०७६ फागुन ३ र ४ गते प्रदेश नम्बर दुई स्तरीय कार्यक्रम आयोजना गरी ‘ सामाजिक रुपान्तरणका लागि मैथिली तथा भोजपुरी गीतको योगदान ‘ र ‘ साँस्कृतिक तथा सामाजिक अन्तरघुलनमा गीतको भूमिका ‘ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । यसरी नै संघले आगामी वर्षमा पनि प्रदेश स्तरीय कार्यक्रमलाई निरन्तरता दिने नै छ यसबाट नयाँ पुस्ता र अग्रज पुस्ताबिचमा विचारको पुस्तान्तरण हुने र सिर्जनशील क्षमताको प्रस्फुटन र उजागर हुने अवसर प्राप्त हुन्छ ।समग्रमा संसारभरि रहेका नेपाली गीतकारहरुलाई एउटै संगठनमा समेटी गीतकारहरुको आर्थिक र नैतिक अधिकार प्राप्तिका लागि सामूहिक आवाज उठाइ स्रष्टा बाँच्ने वातावरण सिर्जना गर्नु नै गीतकार संघको योजना र उद्देश्य हो ।यही सामूहिक आवाजबाट नै रोयल्टीलाई व्यवस्थित गर्न सकिन्छ साथै गीतकारहरु समाजप्रति उत्तरदायी र जवाफदेही बनाउदै लोकतन्त्र को प्रतिफल प्राप्त गर्न सफल पार्न सकिन्छ भन्ने दृढ विश्वास रहेको छ ।

●एउटा गीत जन्मन सबैभन्दा प्रमुख हात सर्जक या भनौं गीतकारको हुने गर्दछ।अर्को भाषामा भन्दा कुनै पनि गीतको आमा भनेको गीतकार हुन्।तर यसको ठिक विपरीत हाम्रो देशमा गीतकारहरु नै छाॅयामा पर्दछन्। यो विषयमा तपाईको धारणा के छ ? र कसरी गीतकारहरुलाई अगाडि ल्याउने सोच बनाउनु भएको छ?

□विगत केही समय अघिदेखि जल्दोबल्दो प्रश्नको रुपमा उठेको यो विषय निकै गहन छ ।जसरी एउटा मानव शरीरभित्र मुटु, कलेजो , मिर्गौला जस्ता विभिन्न अङ्ग हुन्छन् ,तिनीहरुको सक्रियता विना शरीरको कल्पना पनि गर्न सकिदैन तर देखिने वेलामा शरीरको बाहिरी तह मात्रै देखिन्छ त्यसरी नै एउटा गीत बन्न शब्द , संगीत तथा अन्य कुराहरुको भूमिका उत्तिकै गहन हुन्छ तर अगाडि प्रस्तुतकर्ता मात्रै देखिन्छ । तर हामीलाई थाहा हुन्छ त्यहाँ मूख्य भूमिका कस्को रहेको हुन्छ भन्ने । एउटा स्वस्थ्य शरीरका लागि शरीरको आन्तरिक अङ्गको सुरक्षा गरे जस्तै सुन्दर गीत सिर्जनाका लागि गीतकारको आर्थिक तथा नैतिक अधिकारको सुरक्षा गर्नु जरुरी छ । नेपालमा बौद्धिक सम्पत्तिमाथिको बहस भर्खर सुरु हुँदै छ बिस्तारै गीतकारको नाम लिने परिपाटी बढ्दै छ । यस कार्यमा सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुन्छ उहाँहरुले आफ्नो नैतिक जिम्मेवारी पूरा गर्नुभयो भने पक्कै पनि भविष्यमा यस्तो प्रश्न हराउने छ ।

●अब आउने र आइरहेका नव पुस्ताका गीतकारहरुलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ?

□ गीतले मनोरञ्जन मात्र पस्कँदैन यसले चेतना र जागरणका सन्देश पनि संप्रेषण गर्दछ । गीतकारहरुले गीत लेख्दा सामाजीक उत्तरदायित्वलाई सँधै मनन गर्नु पर्दछ र शब्दमा निहित शक्तिको ख्याल पनि गर्नु पर्दछ । नेपोलियन बोनापार्टले भनेका छन् चार हजार विरोधी सैनिक भन्दा चार विरोधी पत्रिका बढी खतरनाक हुन्छ। यसबाट प्रष्ट हुन्छ शब्दमा कति शक्ति हुन्छ । गीतका कारण समाजमा बिद्वेस नफैलियोस् , सामाजीक मूल्य मान्यतामा नकारात्मक असर नपरोस् भनेर गीत लेख्दा सचेत रहनुपर्छ । चाँडै नाम कमाउने र लोकप्रिय हुने नाममा मर्यादाका बन्धन तोडेका छाडा गीत बजारमा फाट्टफुट्ट देखिने गरेका पनि छन् । त्यसैले नयाँ पुस्ताका गीतकारहरुलाई देश र समाजप्रति जिम्मेवार बनेर गीतलेख्नु होला भन्दछु र आफ्नो माटो र मुटुका गेत लेख्न म आग्रह पनि गर्दछु । हाम्रो नेपाली भाषा ,साहित्य धर्म संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्ने र पुर्याउन सक्ने सिर्जनामा साधना होस् भन्ने लाग्छ । यदि नेपाली पहिचान बचेन भने हाम्रो अस्तित्व पनि संकटमा पर्दछ । त्यसैले आफ्नै पहिचानयुक्त मौलीक सिर्जना नै अबको सिर्जना रहोस् भन्ने लाग्दछ ।

नेपाली भई जन्म लिन ठूलै भाग्य चाहिने रैछ
लुम्बिनी र सगरमाथा आफ्नै भन्न पाइने रैछ
(एल्बम:माटो र मुटु,संगीत:शक्ति वल्लभ,स्वर:शिशिर योगी)

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology