आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

उदयपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘टाईमकार्ड’ प्रणाली लागू हुने

१४७ पटक हेरिएको

देबराज राईउदयपुर, फागुन ११ ।
दुर्घटना न्यूनीकरणका लागि जिल्लाको बिभिन्न सडकहरुमा ‘टाईमकार्ड’ अर्थात समयसीमा निर्धारण गरी सवारी साधन आवागमन गराउने प्रणाली लागू गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नयाँ सरुवा भई आएका प्रमुख (सई) होमप्रसाद खनालले यस्तो जानकारी गराएका हुन् ।

‘कच्ची तथा सानो चौडा र निर्माणाधीन सडकमा बढ्दो सवारी सधानको चाँपबाट निम्तने दुर्घटना रोक्नु मेरो कार्यकालमा मुख्य जिम्मेवारी हुनेछ’ सई खनालले भने, ‘नागरिकलाई सचेत गराउदै दुर्घटनारहित जिम्मेवारी पूरा गर्ने हाम्रो ध्यय रहनेछ ।’ नयाँ प्रमुखको रुपमा बिहीबारदेखि जिम्मेवारी सम्हालेसँगै खनालले आफ्नो नेतृत्वमा गर्ने कामहरुको तालिकासमेत सार्वजनिक गरेका छन् ।

जसअन्तर्गत पहिलो प्राथमिकतामा टाईमकार्ड परेको छ भने घुम्ती सडकहरुमा ऐना (कन्भेक्स लेन्स) राख्ने योजनालाई पनि महत्व दिएका छन् । सडकमा डिभाईडर राख्ने, बिभिन्न विद्यालय तथा युवासम्बन्धी वकालातरत संघसंस्थाहरुसँग मिलेर जनचेतनामूलक कार्यक्रम गरिने आफ्नो योजनाबारे पनि जानकारी गराएका छन् । खासगरी जिल्लाको पश्चिमी क्षेत्र शिद्धिचरण लोकमार्गअन्तर्गत घुर्मी–कटारी सडकखण्डमा चल्ने तीब्रगतिका सवारीलाई न्यूनीकरणका लागि केन्द्रित रहने बताइएको छ ।

टाईमकार्ड प्रणाली लागू भएपछि प्रति ८ किलोमिटरको दूरीलाई २० मिनेटको समय दिईनेछ । यदी ८ किमीको सडक दूरीको गन्तव्यमा तोकिएको समयसीमाअगाडि पुग्ने सवारीसाधन कारवाहीमा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका जवान भुवन राईको भनाई छ । टाईमकार्ड पहिलो चरणमा कटारीदेखि घुर्मी र जलजलेदेखि पत्लैयासम्मको सडकमा लगाइने सई खनाले जानकारी दिए । उनका अनुसार सबै प्राबिधिक तयारी पूरा भएसँगै लगभग फागुन दोस्रो हप्तादेखि समयसीमा प्रणाली शुरु हुनेछ ।

कार्यालय प्रमुख खनालका अनुसार उदयपुरको भौगोलिक अवस्था र सडक संरचनालाई मध्यनजर गर्दै तीन पाङ्ग्रे सवारी (टेम्पो)का लागि प्रति घण्टा ४० किलोमिटर, मोटरसाईकलका लागि प्रतिघण्टा ५० किलोमिटर र चार पाङ्ग्राभन्दा माथिका सवारीसाधनलाई प्रति घण्टा ६० किलोमिटरको गतिमा हिड्न सक्नेछन् । यता पहाडी क्षेत्रको कच्ची सडकमा भने प्रतिघण्टा ४० किलोमिटरको दरुले मात्र सवारी चलाउन पाईनेछ ।

  • ‘नो लाईसेन्स नो ड्राईभ’

    सवारी चालक अनुमतिपत्र नभएका ड्राईभरहरुका कारण हाल अधिकांस दुर्घटनाहरु हुने गरेको भन्दै जिल्लामा पनि नो लाइसेन्स नो ड्राईभको नीति लागू गरिने खनालले जानकारी दिए । त्यस्तै सडकमा गुडीरहेको सवारीसधानको गति नाप्ने यन्त्र (राडरगन) भित्र्याएर कारवाही प्रक्रिया अगाडि बढाउने योजना रहेको पनि उनको भनाई छ । यसअघि यो यन्त्र जिल्लामा छैन । जसले सवारी सधानको गति केही दुरी टाढाबाटै ठम्याउन सक्छ ।

-जनशक्ति अभाव
जिल्लामा सडक सञ्जालको अवस्था निकै बृहत हुदै गएपनि सडक सुरक्षाको जिम्मेवार निकाय ट्राफिक प्रहरीको संख्या पर्याप्त नरहेको खनालले गुनासो गरे । ‘एकजनाले हरेक दिन १८ घण्टा ड्युटी गरिरहनुपरेको छ’ सई खनालले भने, ‘ट्राफिक प्रहरी घटनास्थल पुग्दा नपुग्दै दिन ढल्कीने अवस्था छ ।’ उदयपुरको अधिकांस क्षेत्रमा सडक बिस्तार भएपनि पर्याप्त जनशक्ति नहुदा दुर्घटनाको खतरा झनै बढेको उनले बताए । हाल जिल्लामा बिभिन्न ७ वटा ईकाई (सामान्य चेकीङ पोष्ट) राखिएको छ । कतिपय ठाउँमा एक जनाले पनि काम चलाउनुपर्ने अवस्था छ । त्यसैगरी भूमिकाको हिसावले महत्वपूर्ण मानिए पनि स्थापना भएको लामो समय बितिसक्दा आफ्नै कार्यालय अभाव रहेकाले स्थानीय राजनीतिक दल, प्रशासन र सरोकारवाला निकायसँग छलफल गरी आफ्नै भवन निर्माणको पहल गर्नेसमेत खनालको भनाई छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology