आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

उदयपुरका भलिबल खेलाडी हिडे सगरमाथाको फेदी

२१७ पटक हेरिएको

 

उदयपुर, फागुन ५ । उदयपुरका भलिबल खेलाडी सगरमाथाको फेदीको रुपमा चिनिने सोलुखुम्बुको सदरमुकाम सल्लेरी प्रस्थान गरेका छन् । सल्लेरी बजारमा मदन भन्डारी स्पोर्टस एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा हुन लागेको भलिबल प्रतियोगितामा सहभागी हुन उदयपुरका खेलाडीहरु त्यसतर्फ बाटो लागेका हुन् ।

सल्लेरिमा फागुन ६ देखि १० गतेसम्म सञ्चालन हुने तेस्रो मदन स्मृतिकप १ न प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडी, १ अफिसियल र १ टिम प्रशिक्षकसहित १४ सदस्यीय उदयपुर भलिबल टोलीले सहभागिता जनाउने छन् । प्रदेश १ का १४ वटै जिल्लाबाट आउने खेलाडीहरुलाई ४ समूहमा बिभाजन गरिएको आयोजकले जनाएको छ ।

समूह ‘बि’ मा रहेको उदयपुरसँगै भोजपुर र सोलुखुम्बु रहेका छन् । उदयपुरले लिगको पहिलो खेल फागुण ६ गते अर्थात उद्घाटनकै दिन भोजपुरसँग प्रतिस्पर्धा गर्ने खेलतालीका सार्वजनिक भएको उदयपुरका लागि टिम प्रशिक्षक आसन दाहालले जानकारी दिए ।
प्रशिक्षक दाहालका अनुसार नकआउट प्रणालीबाट हुने प्रतिस्पर्धामा ४ समूहमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बिजेता र उपबिजेता गरी ८ टिम नकआउट चरणमा प्रबेश गर्ने छन् ।

त्यस्तै प्रतियोगितामा सहभागी विजेताले एक लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश एक लाख र ५० हजार प्रदान गरिनेछ । प्रतिस्पर्धामा सान्त्वना स्थान हासील गर्ने टिमले भने २५ हजार पाउनेछ । खेलको सर्बोत्कृस्ट खेलाडीले १५ हजार पाउनेछ । उदयमान खेलाडी, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट लिफ्टर, बेस्ट स्पाइकरले जनही १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उदयपुरका टिम प्रशिक्षक दाहालका अनुसार जिल्लाबाट सरोज हमाल, बिजय श्रेष्ठ, ओमप्रकाश मगर, कृष्ण थापा, पेशलसिं ठकुरी, सुबर्णसम्शेर कार्की, जनक कार्की, शिव बस्नेत, राम राई, नीर मगर, शक्ति श्रेष्ठ, सन्जय हमाल, सन्तोष रोकालगायतका खेलाडी सहभागी रहेनेछन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology