सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

पहिलो सूर्योदयसँगै नगरकोटबाट शुभारम्भ भयो भ्रमण वर्ष २०२०

६५ पटक हेरिएको

काठमाडौं, १६ पुस । सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० को शुभारम्भ भएको छ । ‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने मूल नाराका साथ आज जनवरी १ (पुष १६ गते बुधबार) नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिएको हो ।

आज दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेुहुने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी दिनुभयाे ।

जनवरी १ अर्थात पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम शुरु हुने छ । उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास पनि गर्नछन् ।

दशरथ रङ्गशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरिएकाे छ । सर्वसाधरण तथा आगन्तुक ३ देखी ३ः४५ सम्म भित्र गईसक्नुपर्ने छ । भीभीआईपी भने ४ बजे उपस्थित हुनेछन् । कार्यक्रम ७ बजेसम्म हुने बताइएकाे छ ।

कार्यक्रममा नेपाली सांस्कृतिक झाँकीसहित राष्ट्रिय कलाकारमार्फत सांगितिक कार्यक्रम समेत छ ।
त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ ।

उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुग्नुभएको छ । भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुग्नुभएको हो ।

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आउनुभएको छ । भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आउनुभएको छ । भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका चारै देशका पाहुनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्वागत गर्नुभएको छ ।

भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौँ आउनुभएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उहाँले बनाउनुभयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology