बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

आइ.पी.एलमा वाटसनको त्यो अटुट पदर्शन, घुँडा रगताम्य हुँदा पनि डटिरहे

६१ पटक हेरिएको

इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इन्डियन्सले जितेको दुई दिन भइसक्यो । एक रनको रोमाञ्चक जितको चर्चा सेलाउँदै जाँदा अहिले भने फाइनलमा हारेको चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सेन वाटसनको चर्चा चुलिएको छ ।

फाइनलमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउँदा अन्य खेलाडी कमजोर हुँदा पनि वाटसन एक्लैले ५९ बलमा ८० रन हानेका थिए । ४ छक्का र ८ चौका हानेका उनी अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि चेन्नई समर्थक जितको आशमा नै थिए ।

वाटसनको उत्कृष्ट खेलका बाबजुद पनि हार्न पुगेको चेन्नईमा उनको चर्चाको विषय भने भिन्न छ । आइतबारको फाइनल खेलमा घुँडामा लागेको चोटले रगत बगिरहँदा पनि उनी लगातार मेहनत गरिरहेका थिए ।

रन लिँदा डाइभ गर्ने समयमा घुँडामा चोट लागेपनि उनी कसैलाई केही नभनि खेलिरहेका थिए । खेलपछि उनको घाउमा ६ टाँका लगाइएको थियो । अन्तिम ओभरमा रन आउट हुनुको कारण पनि उनको घुँडाको चोट नै रहेको समर्थकहरुले अहिले अनुमान गरिरहेका छन् ।

त्यतिबेला वाटसनको चोटमा कसैको आँखा नपरेको भए पनि अहिले भने उनको रगताम्य तस्वीर सामाजिक सञ्जालमा निकै फैलिएको छ । चेन्नई टिमको आधिकारिक इन्स्टाग्राममा पहिलोपटक तस्वीर सार्वजनिक भएको थियो । जसमा धेरैले उनको खेलप्रतिको समर्पणका लागि धन्यबाद दिएका छन् ।

टिमका उनका साथी हरभजन सिंहले पनि उही तस्वीर राखेर घुँडाको चोटपछि पनि निरन्तर मेदानमा डटिरहेको र खेलपछि ६ टाँका लगाइएको उल्लेख गरेका छन् ।
उक्त चोट खेलको तेस्रो ओभरमा नै डाइभ गर्ने बेलामा लागेको बताइएको छ । तस्वीरमा उनको पहेँलो जर्सी रगतले रातो भएको प्रष्ट देखिन्छ ।

यो सिजन आईपीएलका १७ खेलमा वाटसनले १२७.५६ को स्ट्राइक रेटमा ३९८ रन बनाए । जसमा दोस्रो क्वालिफायरमा ५० र फाइनलमा ८० रन बनाएका हुन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology